बुटवल, मंसिर – नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक ऐजन्डाको खडेरी रहेको बताएका छन् । उनले लोकतन्त्रमा राजनीतिक दलहरु ऐजेन्डामा हिड्नुपर्नेमा त्यसो नहुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउने अवस्था आएको बताए ।
गृहजिल्ला रुपन्देही आएका महासचिव भुसालले बुधबार बुटवलका पार्टीका अगुवा नेता कार्यकर्तासँगको संक्षिप्त भेटघाट कार्यक्रममा राजनैतिक संकट गहिरिदै गएको बताएका हुन । उनले संविधान निर्माण भएपछि २०७४ को निर्वाचनपछि बनेको केपि ओली नेतृत्वको सरकारले राष्ट्रिय पूँजीको विकास, कृषि उत्पादनको प्रवद्र्धन गर्ने गरी कार्यक्रम ल्याउन नसक्नु र संसद विघटन गर्नुले मुलुकमा राजनैतिक रुपमा संकट गहिरिन थालेको टिप्पणी गरेँ । ‘नेकपा बन्दा जनताको पक्षमा काम गर्नुपर्ने थियो, त्यतिखेर नेतृत्वले गरेन, बरु संसद विघटन गरेर जनताको मुद्धा छोड्ने र राजनीति विग्राने काम भयो’ महासचिव भुसालले भने –‘जसको परिणाम आज न विचार, न सिद्धान्त न कुनै उदेश्य रहेका विचारविहिनहरुले हल्ला मच्चाइरहेका छन् ।’
व्यवसायी दुर्गा प्रसाईँ जस्ता व्यक्तिले हल्ला मच्चाउने अवस्था सृजना हुनुमा राजनैतिक दलहरुमा ऐजेन्डा नहनु रहेको उनको भनाई छ । उनले अब मुलुकलाई अगाडि बढाउन एकिकृत समाजवादी पार्टीले अघि सारेको राष्ट्रिय पूजीको विकास गर्दै रोजगारी सृजना गरी सुशासन र समृद्धितर्फ जानुपर्ने बताए । उनले नेपालको कृषि उत्पादन प्रणालीलाई टेकेर उत्पादन बढाएर मात्रै राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने बताए ।
उनले युवा, विद्यार्थी र मजदुर सबै तहमा उकुसमुकुस रहेकाले यसबाट मुक्ति दिलाउनका लागि अब राजनीतिक दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताए । भेटघाटमा पार्टीका नेताहरु हिराध्वज शाह, कमल बस्याल, हरी पहारी, पार्टीका जिल्ला कार्यवाहक अध्यक्ष श्रीराम यादव लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।