पुर्व गृहमन्त्री खाँणले न्याय पाउनेमा विश्वस्त छुः सभापती देउवा

  • बुटवल, मंसिर ।
    नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफु आशावादी रहेको बताएका छन् । मंगलबार नेपाली काँग्रेस, रुपन्देहीको जिल्ला सम्मेलनमा बोल्दै सभापति देउवाले खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको भन्दै खाँण बचाउको संकेत गरे । छोटो मन्तव्य दिएका सभापति देउवाभन्दा अघि बोल्ने जिल्लाका नेताकार्यकर्ताले केन्द्रीय सदस्य खाँणलाई फसाइएको र पार्टीले कुनै सहयोग नगरेको गुनासो गरे थिए ।

    सभापति देउवाले खाँण यहाँको नेता भएको र पटक–पटक यहाँका जनताले चुनेर पठाएको प्रतिनिधि भएकाले चिन्ता लाग्नु स्वाभाविक रहेको जनाउँदै आफूलाई खाँणले न्याय पाउँछन् भन्नेमा बिश्वास रहेको जनाए । ‘अदालतमा बिचाराधीन रहेको मुद्दामा बोल्न हुँदैन तर पनि मलालाई खाँणले न्याय पाउने अपेक्षा छ’, उनले भने ।

    देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई आवश्यक पर्ने पूर्वाधारहरु नभएका कारण पूर्णरुपमा सञ्चालनमा आउन नसकेको बताए । अरुलाई दोष दिएर भन्दा पनि यहाँ चाहिने कुराहरु नभएको उनको भनाई छ । ‘अध्यागमन र अन्य कार्यालयहरु छैन, ती व्यवस्थापन गर्नुपर्छ’, उनले भने, ‘म काठमाडौंमा गएर त्यहाँका सम्बन्धित निकायसँग विमानस्थल पूर्णक्षमतामा संचालनबारे कुरा पर्छ, पहल गर्छु ।’

    सम्मेलनमा बोल्दै काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले रुपन्देहीमा काँग्रेस बलियो शक्ति भएर पनि कार्यकर्ताहरुमा कुरा सुन्नेसम्मको फुर्सद नहुँदा र पार्टी निर्माणमा ध्यान नदिँदा कमजोर हुँदै गएको जनाए । उनले अर्कालाई दोष दिएर पार्टी नब्बने बताए । ‘वडादेखि केन्द्रसम्म पार्टी पहिलो भएर पनि जनतालाई डेलिभरी दिन नसक्दा हामी कमजोर हुँदै गएका छौं’, उनले भने । सबै हिसाबले काँग्रेस मुलुकको हीत गर्ने र इतिहास भएको पार्टी भएको उल्लेख गर्दै सहमहामन्त्री राठौरले एकताबद्ध भएर लागे अझै बलियो बन्ने दावी गरे ।

    केन्द्रीय सदस्य एवं सांसद डा.चन्द्र भण्डारीले काँग्रेसमा अन्तर्घात बढिरहेको र यसले पार्टीलाई कमजोर बनाएको बताए । उनले ३६५ दिननै पार्टीको झण्डा बोक्नेले चुनावमा अर्कैलाई भोट हाल्ने गरेको जनाउँदै त्यस्ता नेताकार्यकर्ता पार्टीलाई आवश्यक नरहेको जनाए । ‘काँग्रेसभित्र गुटगत राजनीति चलिरहेको छ र यसले पार्टीलाई घात घरिरहेको छ’, उनले भने, ‘पार्टीभित्रको गुटले काँग्रेसको मर्म बुझ्न, जनताको हीत सोच्न, साथीलाई चिन्न र सम्बन्धलाई बचाउन सकेन ।’ गुटलाई अन्त्य गर्नुपर्नेमा नेता भण्डारीले जोड दिए ।

    काँग्रेस नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार अधिकारबिहीन भएको भन्दै गुनासो पोखे । उनले संविधानको मर्मअनुसार अधिकार नदिइँदा प्रदेश सरकार ‘पंगु’ बनेको जनाए । साँच्चिकै संघीयता बलियो बनाउने हो भने प्रदेशलाई अधिकार सम्पन्न गराउनु पर्ने उनको जोड छ । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य दीपक गिरी, अब्दुल रज्जाक, भरतकुमार शाह, देवेन्द्रराज कंडेल, जिल्ला सभापति रामकृष्ण खाँण, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङ लगायतले बोल्दै काँग्रेसलाई एकढिक्का बनाएर अघि बढे पार्टी मजबुत बन्ने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 Butwal Samachar All right reserved Site By : Himal Creation